News महाबिर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा
सुरज राना मगर

मुर्गिया । महाबिर क्लब, काठमाडौं रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा महाबिरले हनामी बिएफसी, चितवनलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।

सैनामैना नगरपालिका ४ स्थित सैनामैना फुटबल रंगशालामा भएको खेलमा महाबिरका लागि दुवै गोल कप्तान सुरज थारुले गरे । महाबिरको जितमा निर्णायक बनेका सुरज थारी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत फागुन २३ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक मुर्गिया फुटबल क्लब, सैनामैना र जोङग्री फुटबल क्लब, सिक्किमबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments