
मुर्गिया । घरेलु टोली तथा आयोजक मुर्गिया फुटबल क्लब, सैनामैना रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ मुर्गियाले पाहुना टोली जोङग्री एफसी, सिक्किम (भारत) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
मुर्गियाको जितमा खेलको अन्तिमतिर इन्जुरी समयमा कप्तान एरोन थापा मगरले एक मात्र निर्णायक गोल गरे । खेलको प्लेयर अफ दि म्याच पनि एरोन नै चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत फागुन २४ गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र कपिलवस्तु–११, कपिलवस्तुबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।