
इनरुवा । इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा यहाँ सम्पन्न डिएन ग्रुप इनरुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक इनरुवा फुटबल क्लब, सुनसरीले नै जितेको छ ।
फाइनलमा जर्जियन फुटबल क्लब, कालिम्पोङ, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै इनरुवाले घरेलु मैदानमा उपाधि उचाल्न सफल भएको हो । खेलको ६०औं मिनटमा जर्जियनका प्रवेश रोयले गरेको आत्मघाती गोल नै इनरुवालाई विजेता बनाउन निर्णायक गोल बन्यो ।
विजेता बनेको इनरुवाले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता जर्जियनले १ लाखसहित ट्रफी, मेडलमा चित्त बुझायो । इनरुवाका फोफोना फाइनल खेलको म्यान अफ दि म्याच बने । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक इनरुवा कै निशान मगर बन्दा जर्जियनका जैलेश राई उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डर पनि जर्जियनका शरद मुण्डा बन्दा उत्कृष्ट फरवार्ड पनि जर्जियन कै नोरजाङ्ग लेप्चा बने । उत्कृष्ट प्रशिक्षक पनि इनरुवाका सन्जु चौधरी चुनिए ।
उदीयमान खेलाडी पनि इनरुवाका आदित्य मगर चुनिदा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी इनरुवाका करण चौधरी घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।