
कालाबञ्जर । सहज जितका साथ विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं जारी आठौं भरौल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको चौथो क्वाटरफाइनलतर्फ पुलिसले नमो बुद्ध युथ क्लब, सप्तरीलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । पुलिसको जितमा बिकास बिक, विवेक पाण्डे र प्रज्वल चौधरीले गोल गरे ।
खेलमा पुलिसका प्रविण थापा म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत चैत्र ६ गते बुधबारको पहिलो सेमिफाइनल खेल द योङ ब्रदर्श क्लब, इटहरी र हनामी भरतपुर फुटबल क्लब, चितवनबीच हुने आयोजकले जानकारी दियो ।
न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ९ गतेका दिन हुनेछ ।