News सबैको साथले सम्भव बनेको हस्तबहादुर राई स्मृति खेल मैदान
गोलनेपाल

उर्लाबारी । मोरङको उर्लाबारी–९, थक्लुङ चोकमा निर्माण भइरहेको हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति खेल मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खेल मैदान निर्माण कार्य सम्पन्न भइसकेपछि अहिले गोलपोस्ट स्थापनाको तयारी तीव्र पारिएको छ ।

गोलपोस्ट निर्माणका लागि आवश्यक सामग्रीहरू मैदानमा झारिएको छ, र हाल वेल्डिङ गरी गोलपोस्ट तयार पार्ने काम भइरहेको छ । मैदान व्यवस्थापनका लागि अमृत थाक्लुङको अध्यक्षतामा गठन गरिएको ‘हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतिष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वद्र्धन समिति’ को सक्रियतामा यो कार्य अघि बढिरहेको छ ।

समितिका सचिव गजेन्द्र राईका अनुसार खेल मैदानलाई व्यवस्थित र पूर्ण रूपमा सञ्चालनमा ल्याउन सबै सदस्यहरू अहोरात्र खटिएका छन्। । सचिव राईका अनुसार मैदानलाई स्थानीय खेलकुद गतिविधिहरूको केन्द्र बनाउने लक्ष्यमा रहेको छ । साथै मैदान निर्माण कार्यक्रमा स्थानीय युवाहरूले पनि साथ दिइरहेका छन्। ।

खेल मैदान निर्माणका लागि चन्द्र छाराहाङ राईले जग्गा दान गरेका थिए, जसका आधारमा यो खेल मैदान निर्माण कार्य अघि बढाइएको हो । समितिका पदाधिकारीहरूका अनुसार निकट भविष्यमै खेल मैदानको औपचारिक उद्घाटन गर्ने योजना बनाइँदैछ ।

स्थानीय समुदाय र खेल प्रेमीहरूको सहयोग तथा समर्थनले मैदान निर्माण कार्य छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ । गोलपोस्ट जडान भइसकेपछि यहाँ फुटबल लगायत अन्य खेलकुद गतिविधि सञ्चालन गरिनेछ, जसले उर्लाबारी क्षेत्रको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

Post Comments