News गोधुली रनिङ कपः धरान–१८ र धरान–११ को जित
गोलनेपाल

धरान । यहाँ जारी २५औं गोधुली रनिङ कप नकआउट फुटबल प्रतियोगितामा ६ पटकको विजेता वडा नं १९ टाइब्रकेरमा वडा १८ सँग पराजित भएको छ ।

धरान १६ स्थित रंगशालामा भएको पहिलो खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा ३–२ गोलले वडा १९ स्तब्ध बन्यो । खेलको निर्धारित समयमा वडा १९ ले अग्रता लिएको थियो ।

दोस्रो हाफको ११ औं मिनेटमा प्रवेश राईले गोल गर्दै वडा १९ लाई अग्रता दिलाएका थिए । तर, इञ्जुरी समयमा वडा १९ सम्हालिन नसक्दा खेल टाइब्रेकरमा धकेलियो । दोस्रो हाफको ४५ औं मिनेटमा विनोद कुमार चौधरीले गोल गर्दे खेल बराबरीमा ल्याएका थिए । खेलको म्यान अफ दि म्याच पनि वडा १८ का गोलकिपर धिरज बस्नेत घोषित भए ।

यसैगरि, दोस्रो खेलमा वडा ११ सँग ३–१ गोलअन्तरले वडा नं ३ पराजित भएको छ । खेलमा गोलको खाता भने वडा नं ३ ले खोलेको थियो । पहिलो हाफको ६ मिनेटमै युनिक लिम्बुले गोल गर्दै वडा ३ लाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भने लय समाउदै वडा ११ ले ३ गोल गर्यो । पहिलो गोल दोस्रो हाफको १२ औं मिनेटमा प्रविण राईले गरेका थिए भने थप २ गोल पवन राईले गरेका थिए । उनले एक गोल भने पेनाल्टीमा गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच पनि पवन नै घोषित भएका थिए ।

गोधुली क्लब, धरानको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

 

Post Comments