
बुटवल । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं यहाँ जारी २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्र्पोटिङ क्लब, देहरादुन, भारतलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टोली बन्यो ।
एन्फा टेक्निकल सेन्टर बुटवलको खेलमैदानमा भएको खेलको अन्तिमतिर राजिव लोप्चनले गरेको एक मात्र गोल मच्छिन्द्रको जितमा निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता लोप्चन खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र १३ गते बुधबारको पहिलो सेमिफाइनल खेल एपिएफ फुटबल क्लब, काठमाडौं र संकटा फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १६ गतेका दिन हुनेछ ।