भैरहवा । फराकिलो जितका साथ न्यु सृजना युवा क्लब, करौजिया यहाँ जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ न्यु सृजनाले पक्लिहवा कृषि क्याम्पस, पक्लिहवामाथि ११–२ को फराकिलो जित हात पार्यो । न्यु सृजनाका लागि अंकित रासकोटीले ह्याट्रिकसहित पाँच गोल गर्दा निक्की थापा र निखिल बिकले समान दुई–दुई गोल गरे । त्यस्तै निखिल थापा र हिमाल थापाले थप एक–एक गोल गरे । उता पराजित पक्लिहवाका लागि भने आशिष सिंह र ऋषिकेश सापकोटाले एक–एक गोल गरेका थिए ।
खेलमा ह्याट्रिकसहित पाँच गोल गरेका न्यु सृजनाका अंकित रासकोटी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र १९ गते मंगलबारको खेल आयोजक माछापुच्छ्रे एफसी, भैरहवा र योङ ब्वाईज एफसी, देवदहबीच हुने आयोजकले जानकारी दियो ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।