News धरान–१४ लाई गोधुली रनिङ कपको उपाधि
गोलनेपाल

धरान । साँघुरो अन्तरको जित निकाल्दै यहाँ सम्पन्न २५औं गोधुली रनिङ कप धरान वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ ।

धरान रंगशालामा भएको उपाधि भिडन्तमा धरान–१४ ले धरान–१५ माथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै उपाधि जित्न सफल भएको हो । धरान–१४ का लागि बिबेक राईले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

गोधुली फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता बनेको धरान–१४ ले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्यो भने उपविजेता धरान–१५ ले एक लाख नगदसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

फाइनल खेलको प्लेयर अफ दि म्याच धरान–१४ का आशिष पुरी घोषित भए । त्यस्तै अन्य विधाहरुतर्फ उत्कृष्ट गोलरक्षक धरान–१५ का राजिव खड्का बन्दा उत्कृष्ट डिफेन्डर पनि धरान–१५ कै अस्तोष राई बने । उत्कृष्ट मिडफिल्डर पनि धरान–१५ कै एरिक गुरुङ्ग चुनिदा उत्कृष्ट फरवार्ड धरान–१४ का निमेश तामाङ बने ।

उत्कृष्ट प्रशिक्षक धरान–१४ का शिव राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार धरान–१७ का कृष्ण राईले हात पारे । उदियमान खेलाडी पनि धरान–१७ कै सुवास बिक बने । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही ५ हजार ५ सय सहित ट्रफी हात पारे ।

Post Comments