भैरहवा । न्यु सृजना युवा क्लब, करौजिया जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलतर्फ न्यु सृजनाले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा न्यु सृजनाका लागि पहिलो हाफ मै सुवास तामाङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
खेलमा म्यान अफ दि म्याच भने न्यु सृजना कै गोलरक्षक बिष्णु पल्ली मगर चुनिए । खेल अवधिभर उनले विपक्षीका डरलाग्दा प्रहारहरुलाई उत्कृष्ट रुपमा जोगाउँदै न्यु सृजनालाई जित दिलाउन अहम भूमिका खेले ।
प्रतियोगिता अन्तर्गत चैत्र २३ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र योङ ब्वाईज, फुटबल क्लब, देवदहबीच हुने खेल संयोजक दिप थापा मगर (कुमार) ले जानकारी दिए ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।