
काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ लिगतालिकामा साविक विजेता ललितपुर सिटी फुटबल क्लबले आफ्नो पकड बनाएको छ । शनिबार सम्पन्न आफ्नो पाँचौं खेलमा ललितपुरले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० ले हराउँदै शिर्ष स्थानमा पकड बनाएको हो ।
दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरका लागि २३औं मिनटमा अनन्त तामाङले पहिलो गोल गरे भने ८७औं मिनटमा सन्तोष खत्रीले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यो जितपछि ५ खेलबाट ११ अंक जोडेको ललितपुर शिर्ष स्थानमा छ । दोस्रो स्थानमा भने ८ अंकका साथ एक खेल कम खेलेको धनगढी छ । पराजित बुटवल लुम्बिनी १ अंकका साथ पुछारमा छ ।
त्यस्तै शनिबार नै भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलको ५१औं मिनटमा स्टेफन बिनोङको गोलबाट पोखराले अग्रता बनाए पनि त्यो अग्रता जोगाउन सकेन । खेलको ६५औं मिनटमा आर्सिक लजरले झापाका लागि बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार टारेका थिए ।
यो नतिजापछि ५ खेलबाट ५ अंक जोडेको पोखरा लिगतालिकाको चौथो स्थानमा छ । झापा भने ४ अंकका साथ छैठौं स्थानमा छ ।