News लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
गोलनेपाल

‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमिफाईनल खेलमा दमक लखनपुर भेट्रान्सले जित हासिल गरेको छ ।

आज भएको प्रतिष्पर्धात्मक खेलबाट दमक लखनपुरले आयोजक उर्लाबारी रातोलाई ३–१ गोल अन्तरको फराकिलो अन्तरले हराउदै फाईनलको यात्रा तय गरेको हो । निर्धारित ६० मिनेटको खेलमा दमक लखनपुरले खेलको १६ औ मिनेटमा दिपेन गिरीले उर्लाबारी रातोका गोलरक्षक राजेन्द्र धिमालाई विट गर्दै आफ्‌नो टिमका लागि पहिलो गोल गरेका थिए । १–० गोलको अन्तरले लिड गरिरहेको दमकका लागि खेलको २० औ मिनेटमा उर्लाबारी रातो पाएको कर्नक किकको अवसरलाई सदुपयोग गर्दै प्रदिप राईले प्रहार गरेको कर्नर बलाई पुर्व राष्ट्रिय खेलाडी संजिव बुढाथोकीले हेड मार्फत गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बुढाथोकीले गोल गर्दै बराबरीको अवस्थामा आफ्‌नो टिमलाई पुर्याएपनि खेलको २८ औ मिनेटमा दमक लखनपुरका शुवास आङथोपोको असिस्टमा सुरज श्रेष्ठले थप गोल गर्दै आफ्‌नो टिमलाई २–१ गोलका अन्तरमा पुर्याए । यस्तै दमक लखनपुरले आफ्‌नो टिमको जितका लागि गोलअन्तर फराकिलो बनाउने क्रममा खेलको ४९ औ मिनेटमा सुरज श्रेष्ठको असिस्टमा दिपेन गिरीले थप गोल गर्दै खेल ३–१ को फराकिलो अन्तर बनाए । गिरीको गोल सगै दमक लखनपुरले बैशाख ६ गते हुने फाइनल खेलका लागि चारपाने भेट्रान्स सगको भेट पक्का गरेको छ । आजको खेलको म्यान अफ दि म्याच दमक लखनपुरका दिपेन गिरी घोषित भए । उनले नगद १ हजार १ सय र ट्रफी हात पारे । उनलाई आजका कार्यक्रमका प्रमुख अथिती सिदार्थ एग्रिगेटका अध्यक्ष सचिन शाक्यले वितरण गर्नुभयो ।

प्रतियोगिताको म्यान अफ दि म्याचको स्पोन्सर उर्लाबारी–१ निवासी युवा व्यावसायी राजन आर्चायले गर्नुभएको थियो । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगिताको फाइनल खेल बैशाख ६ गते हुने छ । उक्त फाईनल खेलमा दमक लखनपुर भेट्रान्स र चारपाने युनाईटेडका विच दिनको ३ः०० बजे देखी हुने क्लबका अध्यक्ष दिपक पोमुले बताउनुभयो । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष विक्रम चापागाईले जानकारी दिनु भयो!

Post Comments