
ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं.२ ढुङ्गेसाँगुमा अवस्थित ठोट्ने शिङ्घराज मनरानि आधारभुत विद्यालयको खेलमैदानमा लालिमा क्लबको आयोजनामा जारी दोस्रो आमन्त्रित लालिमा रनिङ कप बिहीबार सुरु भएसँगै शुक्रबार पनि एक क्वाटरफाईनल खेल सम्पन्न भएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा आयोजित फुटबल प्रतियोगीता बैशाख ८ गते सोमबार सम्म चल्ने छ । यस प्रतियोगितामा ताप्लेजुङ, संखुवासभा,पाँचथर,तेह्रथुम र सुनसरीका गरी जम्मा आठ टोलीलाई आमन्त्रण गरिएको छ ।
शुक्रबार सम्पन्न खेलमा हाङ्थुम क्लब संखुवासभालाई पेनाल्टी सुट आउटमा हराउँदै प्रगतिशिल युवा क्लब ताप्लेजुङ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा कुनै टोलीबाट गोल हुन नसक्दा खेलको विजेता पेनाल्टी सुट आउट मार्फत टुङ्गो लागेको हो । पेनाल्टी सुट आउटमा प्रगतिशील युवा क्लबका गोलरक्षक रोशन लिम्बु नायक बन्दा हाङ्थुम क्लब संखुवासभाको उपाधि यात्रामा पूर्णविराम लागेको छ । दुबै टोलीबाट चार चार प्रहार हुँदा रोशन लिम्बुले तीन प्रहार रोक्दै उक्त खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । हाङ्थुमका गोलरक्षक निशान मगरले एक प्रहार रोके पनि आफ्नो टोलीको हार जोगाउन असमर्थ बने । पेनाल्टी सुट आउटमा समग्रमा हाङ्थुम तीन एकले पराजित भएको हो।
शनिबार हुने पहिलो खेल म्याङ्लुङ स्पोर्टिङ्ग क्लव तेह्रथुम र बी सी एस सावादेन ताप्लेजुङबिच दिनको ठीक १२ बजे र दोस्रो खेल कुम्मायक स्पोर्टिङ्ग क्लव पाँचथर र माछापोखरीमा हिटी क्लब चाँगेबीच दिनको ठीक २ बजे सुरु हुने भएको छ ।
प्रतियोगिताको विजेताले नगद रू. एक लाख,पैंसठ्ठी हजार रुपैयाँ सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने, उपविजेता हुने टोलीले नगद रु. नब्बे हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, प्लेयर अफ दि टुर्नामेन्ट आदिले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।