News रुपन्देहीमा प्रथम विश्व शान्ति भेट्रान्स कप शुरु
सुरज राना मगर

सालझण्डी । विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डी, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

सालझण्डी स्थित पशुपति माविको खेलमैदानमा भएको उद्घाटन खेलमा भड्छा भेट्रान्सले विजयी शुरुवात गर्यो । भेडछा भेट्रान्सले आयोजक विश्व शान्ति भेट्रान्स (बी) लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

भडछा भेट्रान्सको जितमा इन्द्र चौधरी र भिम नेपालीले गोल गरे । पराजित विश्व शान्ति भेट्रान्सका लागि भने नारायण थापाले गोल फर्काएका थिए । खेलमा भडछा भेट्रान्सका रमेश चौधरी म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै भडछा भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष कृष्ण प्रसाद घिमिरे, आयोजक विश्व शान्ति युवा क्लबका अध्यक्ष खडक बहादुर जिसी लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले २५,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रेजिन श्रेष्ठले जानकारी दिए । सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय, सालझण्डी संरक्षक रहेको प्रतियोगिताको विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक श्रेष्ठले बताए ।

प्रतियोगिताको आन्तरिक र बाहिरी व्यवस्थापन पक्ष हेरिरहेका कार्यक्रम संयोजक ओम छन्त्यालले स्थानीय भेट्रान खेलाडीहरुबीच स्वस्थय प्रतिस्पर्धा, मनोरञ्जन, भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।

Post Comments