
मेचीनगर । इलामको रेडहर्ष एफसी झापाको बाहुनडाँगीमा आयोजित विद्या विकास एकाडेमी बाहुनडाँगी च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय सरस्वती माविको खेलमैदानमा आजबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारत सिलिगुडीको कञ्चनजंघा एफसीलाई ३-१ गोलअन्तरले पराजित गर्दै इलाम अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको १ मिनेटमै सिलिगुडीका प्रनेष प्रधानले गोल गर्दै सुरुवाती अग्रता बनाए पनि धेरैबेर टिकेन । ४ मिनेटमै पेनाल्टीमार्फत कप्तान विवके सुनामले गोल गर्दै इलामलाई बराबरीमा ल्याए ।
अधिकांश समय दबाबमा राखेको इलामका लागि साङ्गे सेर्पाले खेलमो ३८औँ र ४२औँ मिनेटमा व्यक्तिगत दुई गोल गर्दै ३-१ गोलको फराकिलो अन्तर निकाले । तर, दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
खेलको प्लेयर अफ दी म्याच इलामका दुई गोलकर्ता सेर्पा भए । उनले नगद २ हजार पाए । विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ ।
बाहुनडाँगी युवा क्लबको आयोजनामा भएका प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार पाउँदा विधागततर्फ ५५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, विद्या विकास एकेडेमीका निर्देशक बद्री निरौला, मेचीनगर–४ का वडा पूर्वअध्यक्ष नविन बराल, वडा सदस्य पवन बराईली, नुरबहादुर कार्की, पूर्व अध्यक्ष पोषककुमार दर्जी, विक्रम थापा, संस्थापक उपाध्यक्षः राजेशकुमार बुढाथोकी, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।