
काठमाडौं (एजेन्सी) । पहिलोपटक सहभागिता जनाईरहेको एसियाली राष्ट्र साउदी अरेबिया हाल जारी कनकाफ गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह डी तर्फ आफ्नो अन्तिम खेलमा साउदीले ट्रिनिडाड एण्ड टोबागोसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । सोही समूहको अर्को खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको अमेरिकाले हाइटीलाई २–१ ले हरायो ।
अन्तिम खेलहरुको नतिजापछि ३ खेलबाट ९ अंक जोडेको अमेरिका समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्दा ४ अंकका साथ साउदी समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । त्यस्तै २ अंक जोडेको ट्रिनिडाड एण्ड टोबागो र १ अंक जोडेको हाइटी क्रमशः तेस्रो र चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरियो ।
समूह ए मा मेक्सिको समूह विजेता, कोस्टारिका समूह उपविजेता
त्यसैगरी समूह ए तर्फ साविक विजेता मेक्सिको र कोस्टारिकाले क्रमशः समूह विजेता र उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाएका छन् । आफ्नो अन्तिम खेलमा आमने सामने भएका यी दुई टोलीले गोलरहित बराबरी खेले । समूह ए कै अर्को खेलमा डोमिनिकन रिपब्लिक र सुरिनामले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
अन्तिम खेलहरुको नतिजापश्चात् समूह ए मा समान ७–७ अंक जोडेको मेक्सिको र कोस्टारिका क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गर्दा १–१ अंक जोडेका डोमिनिकन रिपब्लिक र सुरिनाम तेस्रो र चौथो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिए ।