फ्रान्स र नर्वेको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपतर्फ एउटै समूहमा रहेका पूर्व विजेता फ्रान्स र नर्वेले विजयी शुरुवात गरेका छन ।

समूह आई तर्फको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हरायो । खेलमा सबै गोलहरु दोस्रो हाफमा सम्पन्न भयो ।

फ्रान्सका लागि ६६औं मिनटमा काइलन एम्बाप्पेले पहिलो गोल गरे । ८२औं मिनटमा ब्राडली बार्कोलाले फ्रेन्च टोलीका लागि दोस्रो गोल थपेका थिए । रोमाञ्चक बनेको खेलको अन्तिम समयतिर ९०+५औं मिनटमा इब्राहिम एम्बायेले सेनेगलका लागि गोल फर्काए ।

तर, सेनेगलले त्यो गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । गोल खाएको एक मिनट बित्न नपाउँदै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

त्यस्तै समूहको अर्को खेलमा नर्वेले इराकलाई ४–१ ले पराजित गर्यो । नर्वेका लागि २९औं मिनटमा इर्लिङ हालाण्डले पहिलो गोलको खाता खोले । तर ३९औं मिनटमा आइमन हुसेनले इराकका लागि सनसनीपूर्ण बराबरी गोल फर्काएका थिए ।

यद्यपि, त्यो बराबरी गोलको रोमाञ्चक पहिलो हाफ मै तोडियो । ४३औं मिनटमा हालाण्डले नर्वेका लागि दोस्रो गोल थपे । पहिलो हाफसम्म नर्वेले २–१ कै अग्रता कायम राख्यो ।

दोस्रो हाफको ७६औं मिनटमा लियो ओस्टीगार्टले नर्वेका लागि तेस्रो गोल थप्दा खेलको अन्तिमतिर आइमन हुसेनले आत्मघाती गोल गर्न पुगे र नर्वेलाई इराकले ४–१ को नतिजा सुम्पिन बाध्य बन्यो ।

समूह आईतर्फको अब दोस्रो खेलमा जुन २२ तारीखका दिन फ्रान्सले इराकको सामना गर्नेछ भने सोही दिन नर्वेले सेनेगलसँग खेल्नेछ ।

Post Comments