International टोक्यो ओलम्पिकः ब्राजील लगातार तेस्रोपटक फाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फुटबलको महारथीका रुपमा परिचित ब्राजील जारी टोक्यो ओलम्पिकको पुरुष फुटबलतर्फ लगातार तेस्रोपटक फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

मंगलबार काशिमा स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै ब्राजीलले लगातार तेस्रोपटक फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि निर्धारित समय र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजीलका लागि निर्धारित समयतर्फ रिचार्लिसनको हेड प्रहार विपक्षी गोलपोष्टको बारमा लागेर फर्किदा साविक विजेतालाई जितका लागि संघर्ष गर्नुपरेको थियो ।

लगातार तेस्रो फाइनल खेल्ने तयारीमा रहेको ब्राजीलले मंगलबार नै हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक जापान र स्पेनबीचको विजेतासँग ६ अगस्तका दिन स्वर्ण पदकका लागि भिड्नेछ ।

स्मरण रहोस, ब्राजीलले चार बर्ष अघि घरमै सम्पन्न ओलम्पिकको पुरुष फुटबलमा पहिलोपटक स्वर्णपदक जितेको थियो । त्यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा पनि ब्राजील फाइनलमा पुगेको थियो । यद्यपि त्यतिबेला ब्राजीलले मेक्सिकोसँगै २–१ ले हार बेहोर्न पुगेको थियो । यो जितसँगै ब्राजीलले मेक्सिकोसँग आठ बर्ष अघि फाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ ।

 

Post Comments