International तीन फरक दशकमा बेलन डि’ओर जित्ने मेसी पहिलो खेलाडी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फ्रान्स फुटबलले वार्षिक रुपमा प्रदान गर्दै आएको प्रतिष्ठित बेलन डि’ओर अवार्ड यसपटक अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले किर्तिमानी सातौंपटक जित्न सफल भएका छन् ।

त्यति मात्र नभएर तीन फरक दशकमा यो अवार्ड जित्ने मेसी पहिलो र एक्लो खेलाडी समेत बनेका छन् । मेसीले पहिलोपटक यो अवार्ड सन् २००९ मा जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२, २०१५ र २०१९ मा जितेका थिए ।

यसै सिजनको शुरुवातमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) आएका ३४ वर्षिय मेसीले गत सिजन बार्सालाई कोपा डेल रे को उपाधि जिताएका थिए । त्यस्तै अर्जेन्टिनालाई यसै वर्षको शुरुवातमा भएको प्रतिष्ठित कोपा अमेरिकाको उपाधि जिताउन पनि उनले अहम भूमिका खेलेका थिए । अर्जेन्टिनाका लागि सिनियर लेभलमा मेसीको त्यो पहिलो उपाधि समेत थियो ।

लेवान्डोस्की र जर्जिन्होलाई पछि मेसी अगाडी

मेसीले सोमबार राती हात पारेको अवार्ड जित्ने क्रममा उनले बायर्न म्युनिख र पोल्याण्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की र चेल्सीका इटालियन मिडफिल्डर जर्जिन्होले पछि पारेका थिए । यद्यपि रोबर्टले यसै बर्षदेखि दिन थालिएको टप स्कोरर अफ द इयर अवार्ड भने आफ्नो हातमा पारे ।

मेसीले कुल ६१३ अंक हात पारेका थिए भने लेवान्डोस्कीले ५८० अंक प्राप्त गरेका थिए । तेस्रो स्थानका जर्जिन्होले भने ४६० अंक प्राप्त गरे । त्यस्तै रोनाल्डोले यसपटक १७८ अंक मात्र प्राप्त गरे ।

मेसीले अवार्ड लिएपछि लेवान्डोस्कीसँग यो अवार्डका लागि प्रतिस्पर्धा गर्न पाउँदा एउटा सम्मानका रुपमा हेरेको बताए । साथै उनले गत बर्ष यो अवार्डको हकदार लेवान्डोस्की रहेको समेत चर्चा गरे । स्मरण रहोस, कोरोना महामारीका कारण वर्ष यो अवार्ड कार्यक्रम भएको थिएन । त्यतिबेला धेरैले यो अवार्ड लेवान्डोस्कीले जित्ने अनुमान गरेका थिए ।

त्यस्तै यो अवार्डका लागि मेसीलाई सधै कडा टक्कर दिने पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो भने छैठौं स्थानमा रहे । नेमार शिर्ष दश भित्र समेत परेनन् । यो अवार्डको मनोनयनमा नेमार १६औं स्थानमा रहे ।

चेल्सी वर्ष कै उत्कृष्ट टिम

गत सिजन च्याम्पियन्स लिग जितेको लण्डन चेल्सीले वर्ष कै उत्कृष्ट क्लबको अवार्ड हात पार्यो । त्यस्तै गत बर्ष इटालीलाई युरो २०२० जित जिताउन अहम भूमिका खेलेका पिएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले उत्कृष्ट गोलरक्षकको याशिन ट्रफी हात पारे ।

२१ वर्ष मूनिका उत्कृट खेलाडीलाई दिइने कोपा ट्रफी स्पेन र बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीले हात पारे । स्मरणीय छ, यस बर्ष बेल डि’ओर अवार्डका लागि सार्वजनिक गरिएको ३० सदस्यीय शर्टलिस्टमा १४ खेलाडी इङलिस प्रिमियर लिगका थिए ।

महिलातर्फ स्पेनकी एलेक्सिया उत्कृष्ट

त्यस्तै महिलातर्फ बेलन डि’ओर अवार्ड स्पेन र बार्सिलोनाकी मिडफिल्डर एलेक्सिया प्युटेलासले हात पारिन् । यो अवार्डका लागि उनले स्पेन र बार्सिलोना कै जेनिफर हरमोसोलाई पछि पारिन् । तेस्रो स्थानमा चेल्सी की अष्ट्रेलियन फरवार्ड साम केर रहीन् ।

 

 

Post Comments