News आयोजक युथ फ्रेण्डली सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । आयोजक युथ फ्रेण्डली सेन्टर जारी पाँचौं अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजकले लेटाङ एफसीलाई २–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

भुटानी शरणार्थी शिविरको रंगशालामा भएको खेलमा आयोजक युथ फ्रेण्डलीले सोझै बाई पाएर क्वाटरफाइनलमा भिडेको थियो । अधिकांश राष्ट्रिय खेलाडीहरु समावेश दुवै टोलीले खेलमा रोमाञ्चकता पनि पस्केका थिए ।

आयोजकको जितमा खेलको १६औं मिनटमा छिरिङ तामाङ र ६६औं मिनटमा नितीन थापाले गोल गर्दै टोलीको सेमिफाइनल यात्रा सुनिश्चित गरे । खेल अवधिभर निकै राम्रा अवसर प्राप्त गरेको लेटाङले स्कोर भने गर्न सकेन ।

खेलको म्यान अफ द म्याच आयोजक युथ फ्रेण्डलीका उमेश राई घोषित हुदै नगद २५ सय प्राप्त गरे । राईलाई हिमालयन शेर्पा क्लवका प्रशिक्षक संजिव बुढाथोकीले नगद तथा ट्रफीसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत माघ ८ गते बिहीबारको खेल योङ बदर्श एफसी र आयोजक युथ फ्रेण्डली सेन्टर (बी) बीच हुनेछ । आउँदो माघ १५ गते फाइनल हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।

 

Post Comments