सुन्दरनगर । रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत जागृति युवा तथा सक्रिय समाज, न्यु एभरेष्ट युवा क्लब र ठुलीचौर फुटबल क्लबले जित हात पार्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कञ्चन गाउँपालिका १ स्थित सुन्दरनगर खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा जागृतिले बुद्ध सेभेन स्टार क्लबलाई पेनाल्टी शुटआउटमा ६–५ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलमा बुद्ध सेभेन स्टारका सरुन रणपाल म्यान अफ दि म्याच चुनिए ।
दोस्रो खेलमा न्यु एभरेष्टले नवदिप युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै प्रिकवाटरफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा न्यु एभरेष्टका गुमान घर्ती मगर म्यान अफ दि म्याच घोषित भए ।
दिनको तेस्रो खेलमा पनि ठुलीचौरले बुद्धनगर युवा क्लबलाई टाईब्रेकर मै ३–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि टाईब्रेकरमा ठुलीचौर विजयी बनेको हो । खेलमा ठुलीचौरका मनोज थारु म्यान अफ दि म्याच चुनिए ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।