News सिद्धार्थ आदर्श कपको सेमिफाइनलमा
सुरज राना मगर

सैनामैना । सिद्धार्थ फुटबल क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा बलियो फर्साटिकरमाथि २–१ को जित निकाल्दै सिद्धार्थले अन्तिम चारमा स्थान बनाएको हो ।

सैनामैना–४ लहरेपिपल स्थित आयोजकको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको २५औं मिनटमा सिद्धार्थका कप्तान मोहन थापाले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । उनले विपक्षी डिफेन्डर तथा गोलरक्षकलाई बिट गर्दै पोष्ट नजिकैबाट पहिलो गोलको खाता खोलेका थिए ।

त्यस्तै मध्यान्तर लगतै सातौं मिनटमा फर्साटिकरका राजु सिटीले आत्मघाती गोल गर्दा सिद्धार्थले खेलमा २–० को अग्रता बनाउन सफल भएको थियो । उता फर्साटिकरका लागि दोस्रो हाफको १४औं मिनटमा कप्तान सुजन रानाले फ्रिकिकबाट एक गोल फर्काए । उनको सशक्त प्रहार सिद्धार्थका गोलरक्षकले सही रुपमा नियन्त्रणमा नलिंदा गोलमा परिणत भएको थियो ।

खेलमा दुवैतर्फबाट थप गोलको प्रयास भए तापनि सफल दुवै टोली सफल भने भएनन् । खेलमा सिद्धार्थका मन्दिप थापा र फर्साटिकरका अनिल बाँनिया क्षेत्रीले बक्स भित्रै पाएको राम्रो अवसरलाई पोष्टको माथिल्लो भागबाट बाहिर फालेका थिए । शुक्रबारको खेलको म्यान अफ द म्याच सिद्धार्थ कै कप्तान मोहन थापा घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ १० गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल रामपुर फुटबल क्लब र सित्तल युवा क्लबबीच हुने खेल संयोजक बिकास बस्नेतले जानकारी दिए ।

आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए । फाइनल खेल भने माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments