News माधवको दुई गोलसँगै आयोजक आदर्श सेमिफाइनलमा
सुरज राना मगर

सैनामैना । आयोजक आदर्श युवा क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा न्यु एभरेष्ट युवा क्लब विरुद्ध ०–३ को प्रभावशाली जित निकाल्दै आयोजकले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

सैनामैना–४ लहरेपिपल स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलको नवौं मिनटमै माधव शर्माले आयोजकका लागि पहिलो गोल गरेका थिए । १९औं मिनटमा न्यु एभरेष्टका कुमार घर्तीले आत्मघाती गोल गर्न पुग्दा आयोजकले पहिलो हाफमै २–० को अग्रता बनाउन सफल भएको थियो ।

आयोजकका लागि तेस्रो गोल भने माधव शर्मा कै नाममा रह्यो । उनले ४६औं मिनटमा करिब २५ यार्ड टाढाबाट दर्शनीय गोलले विपक्षी पोष्टको जाली चुम्दा आयोजकको सनसनीपूर्ण जित निश्चित बनेको थियो ।

टोलीका लागि दुई महत्वपूर्ण गोल गरेका आयोजक आदर्श युवा क्लबका माधव शर्मा म्यान अफ द म्याच समेत घोषित भए । उनलाई पर्रोहा मन्दिरका अध्यक्ष तथा समाजसेवी रामवली चौधरीले पुरस्कृत गरे ।

सेमिफाइनल समिकरण पनि पूरा

आइतबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । आयोजक आदर्श युवा क्लबले दोस्रो सेमिफाइनलतर्फ माघ १३ गतेका दिन सितल युवा क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत माघ १२ गते सोमबारको पहिलो सेमिफाइनल खेल न्यु ईरा एफसी र सिद्धार्थ फुटबल क्लबबीच खेल संयोजक बिकास बस्नेतले जानकारी दिए ।

आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ हात पार्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए । फाइनल खेल भने माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments