पिपरीचापा । आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, पिपरीचापा र न्यु सृजना युवा क्लब, करौजिया यहाँ जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफायनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको दिनको पहिलो खेलमा आयोजक गौतम बुद्धले करङ्गे फुटबल क्लबलाई १–० ले हरायो । गौतम बुद्धको जितमा प्रबिन बिकले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने गौतम बुद्ध कै निशान पुन चुनिए ।
त्यस्तै दोस्रो खेलमा न्यु सृजनाले बुद्ध सेभेन स्टार क्लबको चुनौति २–० ले समाप्त पार्यो । न्यु सृजनाका लागि निखिल थापा र सुबास गोलेले गोल गरे । खेलको म्यान अफ दि म्याच न्यु सृजना कै निखिल थापा चुनिए ।
प्रतियोगिता अन्तर्गत भदौ ४ गते बुधबारको अन्तिम प्रिक्वाटरफाइनल खेल सुनौलो संगम युवा क्लब, कञ्चन र विश्व शान्ति युवा क्लब, सैनामैना बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए । फाइनल खेल यही भदौ १० गतेका दिन हुनेछ ।