News रेन्बो र सुनगाभा सेमिफाइनलमा
सुरज राना मगर

पिपरीचापा । रेन्बो एकेडेमी र सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीमा जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोलीहरु बनेका छन् ।

बिहीबार दुई क्वाटरफाइनल खेलहरुतर्फ पहिलो क्वाटरफाइनलमा रेन्बोले न्यु सृजनशील युवा क्लबलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । रेन्बोको जितमा सुरज चौधरी, मिलन आले र सन्दिप चौधरीले गोल गरे । खेलमा रेन्बो कै सन्दिप चौधरी म्यान अफ दि म्याच बने ।

त्यस्तै दोस्रो क्वाटरफाइनलतर्फ सुनगाभाले भैसाही युवा क्लबलाई ३–१ को अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । सुनगाभाको जितमा अजित गुरुङले दुई गोल गर्दा थप एक गोल कमल भट्टराईले गरे । उता पराजित भैसाहीका लागि भने सन्जु सेनले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका सुनगाभाका अजित गुरुङ म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत भदौ ६ गते शुक्रबारको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनल योङ ब्वाईज र न्यु सृजना युवा क्लबबीच हुनेछ भने दोस्रो खेल तथा चौथो क्वाटरफाइनल आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र र विश्व शान्ति युवा क्लबबीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए । फाइनल खेल यही भदौ १० गतेका दिन हुनेछ ।

Post Comments