बगनाशकाली । टाईब्रेकरमा जित निकाल्दै यहाँ सम्पन्न तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सराई फुटबल क्लबले लगातार तेस्रोपटक जित्न सफल भएको छ ।
बगनासकली–१ घोरबन्दा स्थित कोठिचौर खेलमैदानमा सम्पन्न फाइनल खेलमा सराईले आयोजक नव जागृति क्लब (सेतो) लाई टाईब्रेकरमा हराउँदै उपाधिमाथि ह्याट्रिक जमाएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा सराई ५–४ ले विजयी बनेको हो ।
विजेता बनेको सराईले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता नव जागृतिले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच नव जागृतिका एलिस थापा चुनिए ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक सराईका गोविन आले बन्दा उत्कृष्ट डिफेन्डर नव जागृतिका रणजीत चौधरी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने दमकडा ब्रदर्शका राज घर्ती मगरले हात पारे ।
त्यसैगरी उदीयमान खेलाडी नव जागृति (कालो) का प्रनिश राना मगर बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी विजेता टोली सराईका सुजन राना घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बगनासकली गाउँपालिका, पाल्पाकी अध्यक्ष सरस्वती चिदी दर्लामी, आयोजक नव जागृति युवा क्लब, घोरबन्दा, बगनाशकाली, पाल्पाका अध्यक्ष जनक गाहा, खेल संइोजक हरि सिंह गाहा लगायतले पुरस्कृत गरेका थिए ।