News यशोदा फुडस २३औं लिस्नु कप शुरु, गोर्खा ब्वाईजको विजयी शुरुवात
सुरज राना मगर

कोटिहवा । लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबारदेखि शुरु भएको जिल्लाको पुरानो र प्रतिष्ठित मध्ये एक यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज स्पोर्टस क्लबले विजयी शुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा गोर्खा ब्वाईजले नवलपरासी–११ लाई टाईब्रेकरमा ४–३ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ गोर्खा ब्वाईजका लागि दुवै गोल सुनिल खड्काले गरेका थिए भने नवलपरासीका लागि दुवै गोल कर्मा लामाले फर्काएका थिए । यद्यपि टाईब्रेकरमा भने गोर्खा ब्वाईज विजयी बन्यो । खेलमा गोर्खा ब्वाईज कै सुनिल खड्का म्यान अफ दि म्याच चुनिए ।

यो जितसँगै गोर्खा प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भदौ १५ गते आइतबारको खेल आयोजक लिस्नु युवा क्लब, कोटिहवा र देवदह ब्वाईज, देवदहबीच हुने खेल संयोजक पदम थापाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँड, उपमेयर जगेश्वरदेवी चौधरी, मुख्य प्रायोजक यशोदा फुड्सका प्रबन्ध मधुसुदन घिमिरे, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष खेमराज गुरुङ, आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्ल लगायतले संयुक्त रुपमा गरेका थिए ।

आउँदो भदौ २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक पदम थापाले जानकारी दिए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, स्याङ्जा, कपिलवस्तु र नवलपुरका गरी कुल १२ टोलीहरु सहभागि छन् ।

Post Comments