News गोर्खा ब्वाईज यशोदा फुड्स २३औं लिस्नु कपको सेमिफाइनलमा
सुरज राना मगर

कोटिहवा । अनिल राना चम्किदा गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल रुपन्देहीमा जारी यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनलमा गोर्खा ब्वाईजले वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जालाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । गोर्खा ब्वाईजको जितमा अनिल रानाले दुई गोल गर्दा थप एक गोल आशिष सोनामले गरे । उता वालिङका लागि भने विश्वास श्रेष्ठ र बिमल घर्ती मगरले गोल गरेका थिए ।

खेलमा गोर्खा ब्वाईजका लागि नायक बनेका अनिल राना म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ २० गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल देवदह ब्वाईज, देवदह र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक अशोक थापाले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने भदौ २७ गतेका दिन हुनेछ ।

Post Comments