बुटवल । यहाँ जारी जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा बुटवल वार्ड नम्बर ११ र बुटवल वार्ड नम्बर ६ भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत असोज ९ गते बिहीबार भएका दुई सेमिफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै बुटवल ११ र बुटवल ६ ले उपाधि भिडन्त पक्का गरेका हुन् ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा बुटवल ११ ले बुटवल ३ लाई २–० को अन्तरले हरायो । बुटवल ११ को जितमा बिजय रायमाझी र यम बुचा मगरले गोल गरे । खेलमा बुटवल ११ का सुरज थापा (सोम) म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा बुटवल ६ ले बुटवल ४ माथि ३–० को सनसनीपूर्ण जित निकाल्यो । बुटवल ६ का लागि अशोक खड्काले दुई गोल गर्दा थप एक गोल चन्द्रमान श्रेष्ठले गरे । खेलमा दुई गोल गरेका बुटवल ११ का अशोक खड्का म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत असोज १० गते शुक्रबारका दिन हुने फाइनलमा बुटवल ११ र बुटवल ६ उपाधिका लागि भिड्ने खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए ।
जी ट्वान्टी फाईभ क्लब, बुटवल–११, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए ।