News वैवाहिक बन्धनमा बाँधिए मनाङ मिडफिल्डर अधिकारी
गोलनेपाल

काठमाडौं । नयाँ सिजनका लागि चार महिना अघि मात्र मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध भएका मिडफिल्डर विश्व अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । अधिकारीले गृहजिल्ला दमौली, तनहुँ कै सन्ध्या दरैसँग जिवनको दोस्रो मध्यान्तर शुरु गरेका हुन् ।

अधिकारीले यहि माघ १४ गते बुधबारका दिन पारिवारिक सहमति मै सामान्य विवाह गरेको बताए । अधिकारीका अनुसार उनले आफ्नो सात बर्षे लामो प्रेम सम्बन्धीलाई दुवै परिवारको मन्जुरीमा विवाहको रुपमा दिएको बताए ।

अधिकारी भन्छन्, “खेलसँगै परिवारिक जिम्मेवारी पनि अगाडी बढाउने सोंचमा छु । तर फुटबल सधै मेरो प्राथमिकता मै छ । जहाँसम्म सक्छु फुटबललाई सधै निरन्तरता दिनेछु ।”

स्मरण रहोस, अधिकारीले गत सिजनको शहिद स्मारक ए डिभिजन लिग फ्रेण्डस क्लबबाट खेलेका थिए । त्यसबाहेक देशका विभिन्न स्थानहरुमा हुने नकआउट फुटबल प्रतियोगिताहरुमा उनले विभिन्न क्लबहरुको प्रतिनिधित्व समेत गर्दै आइरहेका छन् । यद्यपि अब उनले आफ्नो नयाँ क्लब मनाङका लागि राम्रो गर्ने योजनामा रहेको समेत सुनाए ।

अधिकारी दम्पतीलाई टिम गोलनेपालको तर्फबाट सफल दाम्पत्य जिवनको शुभकामना ।

Post Comments