News चौथो सञ्जिवनी कप शुरु, रेसुङ्गाको विजयी शुरुवात
सुरज राना मगर

तिलोत्तमा । रुपन्देहीको फुटबलमा गाउँघर भित्र रहेर छोटो समयमै लोकप्रियता कमाउन सफल सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करण शुरु भएको छ । शहिद दिवस अर्थात माघ १६ गतेदेखि शहिदहरुलाई सम्झिदै प्रतियोगिताको शुरुवात गरिएको हो ।

प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा रेसुङ्गा फुटबल क्लबले विजयी शुरुवात गर्यो । तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा भएको उद्घाटन खेलमा रेसुङ्गाले पक्लिहवा फुटबल क्लबलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

रेसुङ्गाको जितमा पहिलो हाफको २२औं मिनटमा आशिष गुरुङ्गले गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो गोल भने मध्यान्तरपछिको चौथो मिनट मै मोहन थापाले गरे । खेलको म्यान अफ द म्याच पनि दोस्रो गोलकर्ता मोहन थापा नै घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ १७ गते शनिबारको खेल आयोजक सञ्जिवनी युवा क्लब र फर्साटिकर एकेडेमी बीच हुने प्रतियोगिता संयोजक खिम थापाले जानकारी दिए ।

वडा अध्यक्ष थारुद्वारा उद्घाटन

त्यस्तै प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच तिलोत्तमा–१४ का वडा अध्यक्ष सोहोन प्रसाद थारुले गरेका थिए । सो लुम्बिनी प्रदेश फुटबल संघ तथा रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुन, रुपन्देहीका जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुँवर लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

लोकल खेलाडीलाई प्राथमिकताः अध्यक्ष क्षेत्री

उद्घाटन कार्यक्रमका बोल्दै आयोजक सञ्जिवनी युवा क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जिल्ला भित्रका स्थानीय खेलाडीहरुलाई आफूहरुले प्राथमिकतामा राखेको बताए । अध्यक्ष क्षेत्री भन्छन्, “रुपन्देहीमा निरन्तर फुटबल प्रतियोगिता हुन्छन, तर स्थानीय खेलाडीहरुले कमै अवसर पाउने गर्छन् । तर हामीले आयोजना गर्ने यो प्रतियोगितामा स्थानीय खेलाडीहरु नै प्राथमिकतामा छन् ।”

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो फागुन १ गतेका दिन हुनेछ ।

 

Post Comments