News रुपन्देहीमा तेस्रो सिद्धार्थ कप शुरु, जनज्योतिको विजयी शुरुवात
सुरज राना मगर

चपरहट्टी । सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा आइतबारदेखि शुरु तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगितामा जनज्योति क्लबले विजयी शुरुवात गरेको छ ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको उद्घाटन खेलमा जनज्योतिले योङ ब्वाईज क्लबलाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

जनज्योतिको जितमा सदिप केसीले दुई गोल गर्दा थप एक गोल सरोज दर्लामीले गरे । उता पराजित योङ ब्वाईजका लागि भने सिजन दगामी र सुशान्त थापाले गोल गरेका थिए । खेलमा दुई गोल गरेका जनज्योतिका सदिप केसी खेलको म्यान अफ दि म्याच चुनिए ।

यो जितसँगै जनज्योति क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर ८ गते सोमबारको प्रिक्वाटरफाइनल खेल न्यु होराईजन स्पोर्टस क्लब, बुटवल र समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले गरेका थिए । सो अवसरमा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ वार्ड अध्यक्ष फर्शुराम गिरी, आयोजक क्लबका अध्यक्ष पोस्ट बहादुर थापाको पनि उपस्थिति रहेको थियो ।

आउँदो मंसिर १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका कोषाध्यक्ष मनोज थापाले बताए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएकाले उनले जानकारी दिए ।

Post Comments