News समपुर्ण प्रथम भैरव कपको फाइनलमा
सुरज राना मगर

नयाँगाउँ । सनसनीपूर्ण जितका साथ अधिकांश युवा खेलाडीहरुले भरिएको समपुर्ण युवा क्लब, सुपौली रुपन्देहीमा जारी प्रथम भैरव कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा समपुर्णले दावेदार मानिएको मोन्स्टर गाईज, सुनवललाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

सिद्धार्थनगर–१, नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा भएको खेल समपुर्णका लागि कप्तान किरन पुन, मयनक थापा र सुगम ठकुरीले गोल गरे । उता पराजित मोन्स्टरका लागि निखिल पुन र कप्तान सबी गुरुङले एक–एक गोल गर्दा थप एक गोल भने समपूर्ण कै कप्तान किरन पुनले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

त्यसपछि निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा समपुर्णले मोन्स्टरमाथि ४–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । खेलमा समपुर्णका गोलरक्षक सरोज पुन म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंसिर २५ गते बिहीबारको दोस्रो सेमिफाइनल बुद्ध युवा क्लब, मणिग्राम र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक तेजेन्द्र गुरुङ (शक्ति) ले जानकारी दिए ।

भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँ, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २७ गतेका दिन हुनेछ ।

 

Post Comments