News भैरवलाई उर्जा दिईरहेका अदृश्य ‘शक्ति’
सुरज राना मगर

नयाँगाउँ । “भोक, निद्रा बिर्सिएर तयार पारेको मैदान, भैरव कप कै तयारीमा बिग्रिदा राती राम्ररी निदाउन सकिन । खर्च त छँदै थियो, प्रतियोगिताको मुखैमा मैदानले केही अवस्था फेर्दा आफैलाई चोट लागे जस्तो भो ।” रुपन्देहीको सिद्धार्थनगर–१ नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा जारी प्रथम भैरव कपको शुरुवाततिरको एक क्षण यसरी सम्झिन्छन् खेल संयोजक शक्ति (तेजेन्द्र) गुरुङ । हुन पनि हाल जारी भैरव कपको खेलमैदान छोटो समय मै सिंगारिए त्यसरी तयार पार्ने श्रेय उनै शक्तिलाई दिंदा केही अन्यथा नहोला ।

तर मैदान व्यवस्थापनदेखि भैरव कप गर्नुपर्छ भनेर कुरा उठाउने र घरटोल, समाज हुँदै सबैसँग सहयोग जुटाउने काम धेरै लामो समयदेखि आफूहरुले गरेको शक्ति सम्झिन्छन् । “यो मेरो प्रयास र भैरव कपका लागि कोरेको सानो खाका मात्र हो, यसलाई यहाँसम्म उठान गर्न, सहकार्य गर्न क्लब, समाज, विभिन्न संघसंस्था, स्थानीय निकायहरुसँगै साथीभार्य र शुभेच्छुकहरुको ठूलो हात रहेको छ ।” शक्ति भन्छन् ।

भैरव कप शुरु हुनु अघि र भए यता समापनको संघारका पनि आइपुग्यो तर शक्तिको दिनचर्या अझै उस्तै छ । आगामी संस्करण मै अझै विशेष र भव्य बनाउने साथै राष्ट्रियस्तर मै पुर्याउने शक्तिले योजना बुनिसकेका छन् । भैरव कप अब निरन्तर हुने र भावी दिनमा अन्तर्राष्ट्रियस्तर कै पुरुष वा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने सोंच पनि रहेको शक्ति बताउँछन् ।

परिवार र आफ्ना लागि खर्चिनुपर्ने समय र लगानी उनी क्लब, मैदान र फुटबल मै खर्चिरहेका छन् । तर, यी सब कुराहरुको श्रेय उनी एक्लै चाहदैनन् । “फुटबलमा सुस्त रहेको सिद्धार्थनगरमा भैरव कपलाई अगाडी बढाउनुछ । अहिलेलाई मैदान बाहिर नै ठिक छु । जहाँ भए पनि फुटबलका लागि गर्नुपर्छ भन्ने सोंचाई मात्र हो मेरो ।” उनको भनाई र बुझाई बुझ्ने हो भने भैरव कपलाई उर्जा दिईरहेका मैदान बाहिर अदृश्य नै छन् शक्ति ।

Post Comments