News सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा
गोलनेपाल

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत शनिबार दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।

पहिलो क्वार्टर फाइनल खेल सुदूरपश्चिम प्रदेश प्रहरी र हिमाल फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा प्रहरीले हिमाल फ्रेन्ड्सलाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो। प्रहरीलाई जित दिलाउनका लागि क्रिस शाही ठकुरीले ह्याट्रिक पुरा गरेका हुन् भने चक्र बलायर र आदित्य चौधरीले समान दुई दुई गोल गरेका हुन्। सुरुवाती अग्रता भने हिमाल फ्रेन्ड्सले बनाएको थियो। जसका लागि पदम एसकेले खेलको १६ औँ मिनेटमा गोल गरेका थिए।

दोस्रो क्वाटरफाइनल खेल आयोजक अरनीको युवा क्लब र त्रिभुवन युवा क्लब बीच रोमान्चक प्रतिस्पर्धा हुँदा उक्त खेलमा दुई एकको साँघुरो जित हात पार्दै अरनीको युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। सुरुवाती अग्रतालाई जोगाउन नसक्दा त्रिभुवन युवा क्लब क्वार्टरफाइनलबाट बाहिरिन पुगेको हो। त्रिभुवन युवा क्लबलाई भुवन चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए तर उक्त अग्रतालाई जोगाउन नसक्दा त्रिभुवनले पराजय बेहोरेको छ। आयोजकका लागि श्याम बयाडी र सन्दीप सिंहले गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याउन सफल भएका छन्।

आइतबार अन्तिम दुई क्वाटरफाइनल खेल सम्पन्न हुनेछन् जस अन्तर्गत पहिलो खेल भानु युवा क्लब र अरनीको युवा क्लब बी दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्दा पुनर्वास नगरपालिका ३ र सिद्धार्थ युवा क्लब दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुष पन्ध्र गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष तेईस गते सम्पन्न हुनेछ।

Post Comments