बेलबारी । यहाँ सम्पन्न तेस्रो पुष्पाञ्जली कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक पुष्पाञ्जली फुटबल क्लब, बेलबारीले जितेको छ ।
मंगलबार सम्पन्न फाइनलमा पुष्पाञ्जलीले बिएम फुटबल एकेडेमी, बेलबारीलाई २–० ले हराउँदै उपाधि उचालेको हो । बेलबारी–१०, मोरङ स्थित पुष्पाञ्जली खेलमैदानमा भएको खेलमा पुष्पाञ्जली एफसीका लागि अभि लिम्बु र सबिन राईले गोल गरे ।
विजेता बनेको पुष्पाञ्जलीले उपाधिसहित नगद १ लाख १ हजार हात पार्दा उपविजेता बिएम फुटबल एकेडेमीले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । पुष्पाञ्जलीका सबिन राई फाइनल खेलको म्यान अफ दि म्याच बने ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक पुष्पाञ्जलीका रोहन कार्की भन्दा उत्कृष्ट डिफेन्डर पुष्पाञ्जली कै अभि लिम्बु चुनिए । उत्कृष्ट मिडफिल्डर बिएम एफएका असिम राई बन्दा उत्कृष्ट प्रशिक्षक पुष्पाञ्जलीका राज लिम्बु बने । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने पुष्पाञ्जलीका अरुण लिम्बु घोषित भए ।