News रोशन निर्णायक बन्दा भैरव क्वाटरफाइनलमा
सुरज राना मगर

सैनामैना । रोशन राना मगर निर्णायक बनेपछि भैरव एफसी, नवलपरासी रुपन्देहीमा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रतिस्पर्धात्मक प्रिक्वाटरफाइनलतर्फ भैरवले चापाकोट युनाइटेडलाई २–१ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो । सैनामैना–७, देवापार स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा भैरवको जितमा दुवै गोल रोशन राना मगरले गरे ।

खेल शुरु भएको १३औं मिनटमा रोशनले भैरवका लागि गोलको खाता खोलेका थिए । यद्यपि चापाकोटका लागि ४९औं मिनटमा डोना थापाले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७५औं मिनटमा रोशन राना मगरले नै निर्णायक दोस्रो गोल गर्दै भैरवको जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच भैरवका जय गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २७ गते मंगलबारको खेल मुर्गिया एफसी र नव कञ्चन एफसीबीच हुने आयोजकले जनाएको छ ।

सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्र्पोटिङ क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । फाइनल खेल आउँदो फागुन ५ गतेका दिन हुनेछ ।

 

Post Comments