News कठिन जितका साथ डिएमसी सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । डिएमसी तुल्सीपुर रुपन्देहीमा जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा डिएमसीले झरना स्पोर्टस क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । यद्यपि खेलमा अग्रता भने झरनाले लिएको थियो । खेल शुरु भएको ११औं मिनटमा शरद क्षेत्रीले बक्स भित्रबाट सटिक गोल गर्दै झरनालाई खेलमा अग्रता दिलाएका थिए ।

तर खेलको दोस्रो हाफको शुरुवाततिर डिएमसीले पेनाल्टीको अवसर पाएको थियो । झरनाका खेलाडीले बक्स भित्र बल क्लियर गर्ने क्रममा ह्याण्डबल गरेपछि डिएसमीले पेनाल्टीको अवसर पाएको हो । सो पेनाल्टीको अवसरलाई बिकास बुढा मगरले सहजै गोलमा परिणत गर्दै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको छिनोफोनो टाईब्रेकरबाट लिनु परेको थियो । टाईब्रेकरमा भने झरना चुक्न पुग्यो । खेलको म्यान अफ द म्याच डिएमसीका गोलरक्षक सन्देश गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत माघ २७ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल लिस्नु युवा क्लब र योङ स्टार एफसी बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो फागुन १ गतेका दिन हुनेछ ।

Post Comments