News बिशालको निर्णायक गोलसँगै सितलापुर सेमिफाइनलमा
सुरज राना मगर

खैरेनी । कठिन जितका साथ सितलापुर युवा क्लब रुपन्देहीमा जारी दोस्रो देवदह कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा सितलापुरले फर्साटिकर युवा क्लबको चुनौति १–० ले पन्छायो ।

प्रतियोगितामा ‘बाई’ पाएका दुवै टोलीले मंगलबार सोझै क्वाटरफाइनलमा खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा सितलापुरले अतिरिक्त समयमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।

देवदह खैरेनी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थपिएको ५–५ मिनटको अतिरिक्त समयतर्फ चौथो मिनटमै बिशाल ठकुरीले सितलापुरका लागि एक मात्र निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याउन सफल भएका थिए ।

खेलको म्यान अफ द म्याच सितलापुरका निर्णायक गोलकर्ता बिशाल ठकुरी नै घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २८ गते बुधबारको खेल बारागढी युथ क्लब र सुनवल युथ क्लबबीच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिए ।

डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने संयोजक घलेले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ८ गतेका दिन हुनेछ ।

Post Comments