News युनिभर्सलको जितमा राकेश निर्णायक
गोलनेपाल

चन्द्रपुर । चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिग फुटबल प्रतियोगितामा युनिभर्सल युवा क्लब, सर्लाहीले आफ्नो समूहमा पहिलो जित हात पारेको छ । समूह बी मा रहेको युनिभर्सलले बिहीबार सम्पन्न एक मात्र खेलमा यज्ञ भुमि युवा समाज (धनुषा) लाई शून्यका विरुद्ध १ गोलले हरायो ।

चन्द्रपुर–६ स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा सम्पन्न खेलमा युनिभर्सलका लागि दशौं मिनटमा राकेश बिकले गरेको एक मात्र गोल निर्णायक बन्यो । युनिभर्सलका निर्णायक गोलकर्ता राकेश बिक नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

लिग अन्तरगत माघ ३० गते शुक्रबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा मनकामना युवा क्लब, रौतहट र मौवा देवी युवा क्लब बारा भिड्ने छन् भने दोस्रो खेलमा शम्भुनाथ युवा क्लब, सप्तरी र पर्सा फुटबल क्लब, पर्सा भिड्ने आयोजकले जनाएको छ ।

प्रदेश फुटबल संघ, प्रदेश नम्बरको २ को आयोजना तथा चन्द्रपुर नगरपालिका र रौतहट जिल्ला फुटबल संघको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments