News प्रथम प्रदेशस्तरीय फुटबल शुरु, राष्ट्रिय जागृतिको विजयी शुरुवात
गोलनेपाल

सुन्दरहरैचा । शनिबारदेखि शुरु प्रथम प्रदेश स्तरीय खुला नकआउट फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब, सुनसरीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा पंचायन फुटबल क्लबलाई २–० ले हराउँदै जागृतिले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

सुन्दरहरैचा–९ मोरङ स्थित इन्द्रपुर रंगशालामा भएको उद्घाटन खेलमा जागृतिका लागि खामिर गिल्सन एक्लैले दुई गोल गरे । उनले खेलको ३५ र ६६औं मिनटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच पनि खामिर गिलसन नै घोषित भए । उनले पुरस्कार वापत नगद २१०० र ट्रफी हात पारे ।

यो जितसँगै राष्ट्रिय जागृति सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत फागुन २ गते आइतबारको खेल झापा फुटबल क्लब र पूर्वाञ्चल एपिएफबीच हुने आयोजकले जनाएको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले एक कार्यक्रमका बीच गरेका थिए । झरना युवा क्लब, सुन्दरहरैचा–९ बिराटचोकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार १,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल भने यहि फागुन ७ गतेका दिन हुनेछ ।

 

Post Comments