- तेजन खड्का
उर्लाबारी । उर्लाबारी–९, आम्बारीको खुला मैदानमा बालिकाहरूको एउटा समूह नियमित रूपमा भेला हुन्छ । उनीहरूको हातमा किताबसँगै अब फुटबल पनि छ । खेलप्रतिको रुचि र आत्मविश्वासले भरिएका यी बालिकाहरूले परम्परागत सीमाना तोड्दै मैदानमा आफ्ना पाइला बलियो बनाइरहेका छन् ।
सामान्य जर्सी, पुरानो बल र सीमित सुविधा, यिनैबीच उनीहरूको अभ्यास चलिरहेको छ । तर अभावले उनीहरूको उत्साहलाई रोक्न सकेको छैन । खेल्दा उनीहरूबीच देखिने समन्वय, हौसला र प्रतिस्पर्धी भावना आफैंमा प्रेरणादायी छ ।
यी बालिकाहरू औपचारिक प्रशिक्षण बिनै सिक्दैछन,—एकअर्काबाट, खेल्दै–खेल्दै । मैदान उनीहरूका लागि केवल खेल्ने ठाँउ होइन, सिक्ने र आत्मविश्वास बढाउने पाठशाला बनेको छ । यहाँ उनीहरूले अनुशासन, सहकार्य र नेतृत्वका पाठ पनि आत्मसात् गरिरहेका छन् ।
समाजमा अझै कतैकतै रहेका ‘महिलाले खेल्नु हुँदैन’ भन्ने सोचलाई उनीहरूले चुनौती दिइरहेका छन् । प्रत्येक अभ्याससँगै उनीहरू आफू मात्र होइन, समाजको सोच पनि बदल्दै अघि बढिरहेका छन् ।
अभिभावक र स्थानीय समुदायको साथ विस्तारै बढ्दै गएको छ । तर आवश्यक पूर्वाधार, प्रशिक्षक र अवसरको अभाव अझै देखिन्छ । यदि यिनै पक्षमा ध्यान दिन सकियो भने, आम्बारीका यी बालिकाहरू भोलिका सक्षम खेलाडीका रूपमा स्थापित हुन सक्नेछन् ।
आज मैदानमा देखिएका यी साना प्रयासहरू भोली ठूला उपलब्धिमा रूपान्तरण हुने सम्भावना स्पष्ट छ ।