News धरान सिटी फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने
गोलनेपाल

सुन्दरहरैचा । धरान सिटी फुटबल एकेडेमी जारी प्रथम प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा झापा फुटबल क्लबको चुनौति टाईब्रेकरमा ४–२ पन्छाउँदै धरान सिटी उपाधि नजिक पुगेको हो ।

सुन्दरहरैचा–९ मोरङस्थित इन्द्रपुर रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा झापाले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । झापाका लागि २३औं मिनटमा सरोज कार्कीले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

तर ३५औं मिनटमा धरान सिटीका लागि बिनोद राईले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने धरान सिटीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । टाईब्रेकरमा विपक्षीका दुई प्रहार जोगाएका धरान सिटीका गोलरक्षक बिनय श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।

अब उपाधिका लागि धरान सिटीले फाइनलमा आयोजक झरना युवा क्लबसँग खेल्नेछ । फाइनल खेल यहि फागुन ७ गतेका दिन हुनेछ । झरना युवा क्लब, सुन्दरहरैचा मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments