News सरु सहित चार खेलाडीले पाकिस्तानको शिर्ष महिला लिग खेल्ने
गोलनेपाल

काठमाडौं । पाकिस्तानको एक मात्र आधिकारिक महिला फुटबल प्रतियोगिताका रुपमा रहेको शिर्ष लिग राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको १२औं संस्करणमा नेपालका चार महिला खेलाडीहरुले खेल्ने भएका छन् ।

पाकिस्तानको त्यो प्रतिष्ठित लिग खेल्ने नेपाली खेलाडीहरुमा सरु लिम्बु, अनिता केसी, गीता राना र गोलरक्षक एन्जिला तुम्बापो सुब्बा रहेका छन् । संयोग कस्तो भन्दा यी चारै खेलाडी नेपालको लिग च्याम्पियन एपिएफ क्लबबाट खेल्छन् । स्मरण रहोस, हालै सम्पन्न राष्ट्रिय महिला लिगमा सरु लिम्बु सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएकी थिईन् ।

पाकिस्तान खेल्न जाने कुरा सरुले पनि पुष्टी गरिन् । साथै त्यता जानका लागि दुतावासमा आवश्यक प्रक्रिया मिलाइरहेको समेत सरुले बताइन् । सरुका अनुसार उनीहरुले पाकिस्तानको माशा युनाइटेड एफसीका लागि खेल्नेछन् ।

कुल २० टोलीहरुको सहभागिता

यहि आउँदो मार्च ८ देखि ३ अप्रिलसम्म चल्ने प्रतियोगितामा पहिलोपटक कुल २० टोलीहरुले सहभागिता जनाउँदै छन् । साथै सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । सरुहरुले खेल्ने भनिएको माशा युनाइटेड भने समूह बी मा रहेको छ । जहाँ माशाले कराँची युनाइटेड, कराँची वुमन एफसी, एचइसी र सियालकोट सिटीसँग खेल्नेछ ।

प्रत्येक समूहको शिर्ष दुई टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलदेखिको खेलहरु भने परम्परागत नकआउटका आधारमा हुने बताइएकोछ । विभागीय टोली पाकिस्तान आर्मी डिफेन्डिङ च्याम्पियन समेत हो । आर्मीले पछिल्लो दुई सिजनको लिग उपाधि लगातार आफ्नो पोल्टामा पारेको थियो ।

डिफेन्डिङ च्याम्पियन आर्मी भने यसपटक समूह सी मा परेको छ । सर्वाधिक सफल क्लब भने योङ राइजिङ स्टार्स वुमन एफसी हो । जसले सर्वाधिक ५ पटक यो उपाधि जितेको थियो । यसपटक प्रतियोगिताका खेलहरु कराँची शहरको विभिन्न तीन फरक स्थानमा हुने बताइएको छ ।

विजेतालाई उपाधिसहित १० लाख

यसपटक प्रतियोगिताको उपाधि जित्ने टोलीले उपाधिका साथ नगद १० लाख पाकिस्तानी रुपैयाँ हात पार्नेछ । त्यस्तै दोस्रो हुनेले ७ लाख ५० हजार हात पार्नेछ भने तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै समूह चरणतर्फ सहभागि हुने प्रत्येक टोलीलाई तयारी खर्चवापत ५०–५० हजार दिइने पाकिस्तान फुटबलले जनाएकोछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ८५ हजार नगद पाउनेछ भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Post Comments