News पुलिसलाई दमक गोल्डकपको उपाधि
गोलनेपाल

विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार सम्पन्न दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिता उपाधि जित्न सफल भएको छ ।

उपाधि जित्ने क्रममा पुलिसले बलियो प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनल खेलको अन्तिम समयमा मनाङ सम्हालिन नसक्दा गोल खान पुगेको थियो । खेलको ८८ औं मिनटमा पुलिसका लागि रेजिन सुब्बाले एक मात्र निर्णायक गोल गरे । जुन गोल पुलिसलाई उपाधि जिताउन र मनाङलाई स्तब्ध पार्न प्रर्याप्त बन्यो ।

विजेता बनेको पुलिसले उपाधिसहित नगद १३ लाख ११ हजार हात पारेको छ भने उपविजेता बनेको मनाङले ६ लाख ११ हजारमा चित्त बुझाएको छ । मनाङको यो लगातार दोस्रो फाइनल पराजय थियो । यसअघि इलाममा गत बैशाख १७ गते सम्पन्न माइ भ्याली गोल्डकपको फाइनलमा थ्रीस्टारसँग पराजित हुन पुगेको थियो ।

दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालभरिका कुल दश टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments