News देउराली फोर ब्रदर्श सेमिफाइनलमा
सुरज राना मगर

सुस्ता । देउराली फोर ब्रदर्श यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा फोर ब्रदर्शले नव युवा क्लब, बर्दघाट–१६ लाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्यो ।

सुस्ता–४ नरसही स्थित स्थानीय खेलमैदानमा भएको खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा फोर ब्रदर्श हावी बन्न पुगेको थियो । दोस्रो हाफ शुरु भएको दशौं मिनटमै फोर ब्रदर्शले पेनाल्टीको अवसर पाएको थियो । जसलाई बिनोद भट्टराईले गोलमा परिणत गर्न सफल भएका थिए ।

त्यस्तै दोस्रो हाफको २१औं मिनटमा अनुप गुरुङले फोर ब्रदर्शका लागि दोस्रो गोल थपे भने त्यसको ६ मिनट लगतै बिनोद भट्टराईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फोर ब्रदर्शको सेमिफाइनल यात्रा सुनिश्चित गरेका थिए ।

खेलमा फोर ब्रदर्शका अनुप गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र १४ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल तिलकाना युवा क्लब र सिद्धज्योति तेक्वान्दो क्लबबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments