News नवलपरासी–११ उपाधि नजिक
सुरज राना मगर

बर्दघाट । घरेलु टोली नवलपरासी–११ कठिन जित निकाल्दै जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा नवलपरासीले बरचुली माविलाई सडन डेथमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक २–२ गोलको बराबरी खेलेका थिए ।

बर्दघाट स्थित क्याम्पा चौर खेलमैदानमा भएको खेलको १२औं मिनटमा रश्मी घिसिङको पेनाल्टी गोलबाट नवलपरासीले खेलमा अग्रता लिएको थियो । यद्यपि त्यसको ६ मिनट लगतै अमिषा कार्कीले बरचुलीका लागि बराबरी गोल फर्काउन सफल भएकी थिईन् ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफतर्फ छैटौं मिनटमा सुनकला राईले बरचुलीका लागि दोस्रो गोल गर्दै पाहुना टोलीलाई खेलमा २–१ को स्थितिमा पुर्याइन । तर बरचुली खेलको अन्तिमतिर सम्हालिन सकेन । खेल सकिन दुई मिनट बाँकी छँदा रश्मी घिसिङले नै विपक्षी डिफेन्डर तथा गोलरक्षकलाई बिट गर्दै एकल प्रयासमा सटिक गोल गरेर खेललाई २–२ को बराबरीमा ल्याएकी थिईन् ।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा पनि नतिजा ननिस्किए पछि सडन डेथमा भने नवलपरासीले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्दै फाइनल स्थान सुरक्षित गर्न सफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच नवलपरासीकी दुई गोलकर्ता रश्मी घिसिङ घोषित भईन् । प्रतियोगिता अन्तरगत चैत्र १५ गते आइतबारको दोस्रो सेमिफाइनल खेल लेखनाथ युनाइटेड, कास्की र रुपन्देही–११ बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

बर्दघाट नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०० हात पार्नेछ भने उपविजेताले ६५,००० प्राप्त गर्नेछ । फाइनल खेल चैत्र १७ गतेका दिन हुनेछ ।

Post Comments