News सेमिफाइनलमा पुग्यो तिलकाना
सुरज राना मगर

सुस्ता । तिलकाना युवा क्लब यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ तिलकानाले सिद्धज्योति तेक्वान्दो क्लबलाई १–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

सुस्ता–४, नरसही स्थित स्थानीय खेलमैदानमा भएको खेलको दोस्रो हाफतर्फ दशौं मिनटमा करन थापाले गरेको एक मात्र गोल तिलकानालाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने तिलकानाका कप्तान बिमल रोका घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र १५ गते आइतबारको अन्तिम क्वाटरफाइनल खेल बि.पी. स्मृति युवा क्लब र पृथ्वी युवा क्लबबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments