News माउन्ट ग्लोरीलाई फुटसल उपाधि
गोलनेपाल

काठमाडौं । माउन्ट ग्लोरीले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जित्न सफल भएको छ ।

बल्खुको मदननगरस्थित आयोजक भिजनोभा रिक्रिएसन सेन्टरमा भएको फाइनल सरहको खेलमा माउन्ट ग्लोरीले विश्वनिकेतनलाई ३–१ गोलले पराजित गर्यो । विजेताका एलेक्स पौडेलले २ तथा सञ्जय स्याङ्तानले १ गोल गरे । उता विश्वनिकेतनबाट विकेश शाहीले सान्त्वना गोल फर्काए ।

प्रतियोगितामा सहभागी २४ टिम मध्ये शीर्ष तीन टोलीलाई राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराई विजेताको टुंगो लगाइएको थियो । त्यसमा माउन्ट ग्लोरी शत प्रतिशत जितका साथ ६ अंक जोड्दै च्याम्पियन बनेको हो ।

त्यसअघि माउन्ट ग्लोरीले ब्राइट फ्युचरलाई ८–० को फराकिलो गोलअन्तरले हराएको थियो । दोश्रो भएको विश्वनिकेतनले ब्राइट फ्युचरलाई ४–० ले पन्छायो । विश्वनिकेतनले ३ अंक जोड्यो । ब्राइट फ्युचरले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विश्वनिकेतका विकेश शाही उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिता अवधिभर १६ गोल गरेका विश्वनिकेतनकै अनिल नगरकोटी सर्वाधिक गोलकर्ता बने । माउन्ट ग्लोरीका पेम्बा नोर्बु भोटे उत्कृष्ट गोलरक्षक घोषित भए ।

एसियाली तारा पुञ्जका विश्वास सुनुवार उदीयमान खेलाडी बने । एसियालीनै अनुशासित टिम ठहरियो । एसियालीले २ हजार ५ सय नगद पुरस्कार हात पार्यो ।

विजेतालाई बागमती प्रदेश सांसद् डा. अजय क्रान्ति शाक्य, अखिल नेपाल फुटबल संघका सह–महासचिव मोहनबहादुर बस्नेत, आयोजक भिजनोभाका अध्यक्ष रामकृष्ण तण्डुकारलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

Post Comments