News चितवनमा आवद्ध भए फ्रेन्च स्ट्राइकर गोरान
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टोली एफसी चितवनले सर्बियन मूलका फ्रेन्च स्ट्राइकर गोरान जर्कोविकलाई अनुवन्ध गरेको छ ।

गोरानलाई के कति रकम र किहलेसम्मका लागि अनुवन्ध गरिएको हो । त्यो भने क्लबले खुलाएको छैन । यहि बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको सुपर लिगका लागि भनेरै चितवनले यसअघि दुई इजिप्शियन खेलाडीलाई पनि अनुवन्ध गरिसकेको छ ।

गोरानले नेपाल आउनु अघि लाओसको शिर्ष लिग पाँचपल्ट जित्न सफल लाओ टोयटाबाट खेलेका थिए । त्यसैगरी उनीसँग फ्रान्स, बेल्जियम, इरान, बहराईनमा व्यवसायीक फुटबल खेलेको अनुभव रहेको छ ।

अनुभवी प्रशिक्षक मेघराज केसीको जिम्मेवारीमा रहेको एफसी चितवनका मार्की खेलाडीमा भरत खवास छन् । त्यस्तै टेक बुढाथोकी, बिकास खवास, अमित तामाङ, राजिव लोप्चन, कुलदिप कार्की जस्ता नेपाली फुटबलका अनुभवी र युवा खेलाडीहरुको सम्मिश्रण पनि टोलीमा छ ।

चितवनले १३ बैशाखका दिन ललितपुर सिटी एफसीसँग खेल्दै सुपर लिगको शुरुवात गर्नेछ । लिगका सबै खेलहरु त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने छन् । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन गईरहेको लिगको समापन खेल भने जेठ १ गतेका दिन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहने लिगमा सात फरक शहरका सात फ्रेन्चाईज टोलीहरु उपाधिका लागि भिड्ने छन् ।

 

Post Comments